राजनीति

संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो परिवर्तन गरौं : कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुनः प्रश्नचिन्ह खडा भएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले राजनीतिक दलसम्बन्धी पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाएको भन्दै सत्तारूढ दल कांग्रेस पुनः आत्मघाती र फोहोरी बाटोमा हिँडेको आरोप लगाउनुभयो । अध्यादेश ल्याएको उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्नुभयो ।

भर्चुअल बैठकमा अध्यक्ष थापाले पार्टीको महाधिवेशनसँगै स्थानीय निकाय निर्वाचनसम्बन्धी विशेष कार्ययोजना प्रस्तुत गर्नुभयो । आगामी दिनमा क्षेत्र, नगर, वडासँगै बुथ कमिटी निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले प्रशिक्षण, घरदैलो, जनताको माझ राप्रपा अभियान र जनपरिचालन सघन रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।