राजनीति

माधवको नयाँ पार्टीमा भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई सामेल नहुने


काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले गठन गर्ने नयाँ पार्टीमा उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने सामेल नहुने भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ ।

नेपाल पक्षका नेताहरू बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन् । नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ ।

प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए । तर, उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका हुन् ।