देश

४६ सय दिन नसक्दा केएमसीले शव नै बन्धकी राखे पछि…


काठमाडौँ – स्वास्थ्य सेवामा व्यापारीहरु पसेपछि मानवता भन्ने समाप्त भयो । पैशाका अगाडि मान्छेका भावना, पीडा, दुःखको कुनै मोल भएन । सोमबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज –के एमसीमा जे भयो, त्यसको जति निन्दा गरे पनि अपुग नै हुन्छ ।

पाल्पाकी मुना कार्कीका सरोज कार्की केएमसी अस्पतालभित्र मृत अवस्थामा छन् । सोमबार दिउँसो १२ बजेदेखि मुनाले आफ्नो पतिको शव माग गरिरहेकी छिन् । तर हिजो बेलुका ६ बजेसम्म पनि केएमसीले शव दिएको छैन । किन दिएन ? भन्ने बुझ्दा थाहा भयो – उपचारमा लागेको ४४ हजार ६ सय मध्ये ४ हजार ६ सय तिर्न मुनासँग पैशा थिएन । काठमाडौंको जोरपाटी बस्ने मुना र उनका पति ज्याला मजदुरी गरेर जीवन चलाउँथे । पेट पोल्ने, छाती पोल्ने र शरीर काम्ने समस्या भएपछि सरोजको वीर अस्पतालमा शल्यक्रिया गरियो । वीरले भ्यान्टिलेटर छैन भनेर केएमसीको व्यापार बढाइ दिन यता पठाइदिएछ ।

केएमसीमा तीन दिन राखेपछि सरोजको मृत्यु भइसकेको मुनाले चाल पाइन् । आफ्ना पतिको निधन हुँदा पनि मुनाले रुन पनि पाइनन् । अस्पतालले ४ हजार ६ सय नदिएसम्म शव दिएन । ४ हजार ६ सयका लागि शव नै बन्धक राखिदियो । मुनाले ‘नागरिकता बन्धकी राख्नु, शव दिनु’ भन्दा पनि अस्पतालका सञ्चालक सुनिल शर्माको स्कुलीङमा परेका कर्मचारीले दया देखाएनन् । अस्पतालका कर्मचारीका मुना रोइन, विन्ती बिसाइन, हात जोडिन्, हुनेसम्म सबै गरिन् । तर सेवा गर्ने बसेका अस्पतालका कर्मचारीले ‘मेवा’ मात्रै हेरे । मानवना देखेनन्, पैशा मात्रै हेरिरहे ।

अझै सकुनी चाल त केएमसीले अर्कै चल्यो । सरोजको ब्रेन डेड भइसकेको थियो । अर्थात् उनी फर्किन सक्ने अवस्थामा थिएनन् । उनको मृत्यु भइ नै सकेको थियो । तर अस्पतालले ‘तपाईको बिरामीको निधन भयो’ भन्न सकेन । अस्पतालले मुनालाई चोट पर्ला भनेर संकोच गरेको होइन । अस्पतालले ठान्यो, ‘सरोजको निधन भयो’ भनिदिँदा शव छाडेर परिवारका मान्छे गए भने ४६ सय कसले तिर्छ ? यसकारण उनीहरुले सरोजको मृत्यु भएको कुरा स्पष्ट भनेनन् । उनीहरुले यति मात्रै भने – तपाईको मान्छे लैजाने हो भने पहिले ४६ सय तिर्नुस् । पत्नी मुनाले भनिन् – त्यही ४० हजार पनि घरबेटी, वरिपरका छिमेकी, भाडामा बस्नेहरुसँग सय पचास गरेर ल्याएको हो । यति छुट गरिदिनुस न हजुर । तर अस्पतालले दया देखाएन । अस्पतालले भनिरह्यो – पहिले पैशा दिनु, मान्छे लैजानु । दिउँसो १२ बजेदेखि साँझ ६–७ बजेसम्म पनि अस्पतालले सरोजको शव दिएन ।

दुई छोरा र एक छोरी भएका सरोजले अन्तिम स्वास केएमसीमै फेरे । अस्पतालले ४६ सयका लागि शव नै बन्धकीमा राखेको थाहा पाएपछि मजदुर नेता दीपक केसीले योहो टेलिभिजनलाई खबर गरे । योहो टिभीको टोली केएमसी पुग्दा त्यहाँको सबै स्थिति प्रष्ट बुझियो । अस्पतालका जिम्मेवार अधिकारीहरुसँग कुरा गर्न खोज्दा त्यहाँ जवाफ दिन कोही तयार भएनन् । त्यसपछि टेलिभिजनले नै केएमसीमा एक ती विपन्न परिवारको एक सदस्यको मृत्यु भएको र ४६ सयका लागि शव बन्धक राखेको खबर स्वास्थ्य मन्त्रायलका अधिकारीहरुमा पुर्यायौं । स्वास्थ्यका अधिकारीहरुले केएमसीका अधिकारीहरुलाई फोनमा दया राखिदिन आग्रह गरे । त्यसपछि अस्पतालले बन्धक बनाएको शव दिन तयार भयो ।

४६ सयका लागि दिनभर शव बन्धकी राखेको केएमसीले साँझ शव दियो । तर अन्त्येष्टिका लागि मुनासँग एक पैशा पनि थिएन । त्यसपछि पनि योहो टेलिभिजनकै आग्रहमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन थापाले निःशुल्क अन्त्येष्टिका लागि सहजीकरण गरिदिए । शवको अन्त्येष्टि पनि भयो, तर नयाँ खाले समस्यामा मुना परेकी छिन् ।

नयाँ खाले समस्या भनेको यो हो कि – अहिले मुनासँग किरिया बस्न चाहिने सेतो कपडा किन्ने पैशा पनि छैन । मृत्यु संस्कार पूरा गर्न चाहिने रुपैयाँ पैशा केही पनि छैन । तीन सन्तानको जिम्मेवारी मुनाको काँधमा आइपरेको छ । तर उनीसँग न पैशा छ, न धनसम्पत्तिको नाममा केही छ । हामी सम्पूर्ण मनकारी महानुभावहरुसँग अपिल पनि गर्छौं कि यस्तो पीडामा परेकी मुनाका लागि सकिन्छ भने केही दान गरिदिऔं ।