समाज

यार्चागुम्बा लुटेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट सात जना पक्राउ



काठमाडौँ – यार्चागुम्बा लुटेको आरोपमा सात जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनीहरूले गत आइतबार नयाँ बसपार्कमा दीपक लामा र सुरेश सापकोटबाट एक किलो यार्चागुम्बा लुट पाट गरेका थिए। लुट पाट भएको भन्ने निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मुख्य योजनाकार बझाङ घर भएका भक्तपुरको सूर्यविनायक बस्ने ३४ वर्षीय धर्म ओखेडा रहेको प्रहरीले जनाएको छ।

म्यानवपावर व्यवस्थापक समेत रहेका दोलखा घर भई ठमेल बस्ने ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछाप घर भइ नयाँ बजार बस्ने २७ वर्षीय दीपक थापा मगर, काभ्रे घर भई नयाँबजार बस्ने २७ वर्षीय विशाल लामा, २३ वर्षीय योङ्देन लामा र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

साथै यार्चागुम्बा किन्ने भारतको कास्मिर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जनाले किन्ने बहाना बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

‘गत साउन २४ गते किन्न बोलाएर मेरो एक किलो यार्सागुम्बा लुटियो भनेर पीडित यहाँ उजुरी गर्न आए। हामीले के भएको हो भनेर अनुसन्धान गर्दै जाँदा लुट्नेमध्ये एक जनालाई फेला पार्‍यौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने। उनीमाथि सोधपुछ गर्दै जाँदा धर्म ओखेडा भन्ने मुख्य योजनाकार भएको खुलेको हो।