बिजनेस

ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले नरोकेको नेप्से प्रमुखको स्पष्टिकरण


काठमाडौँ – सेयर बजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिनु भएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउँदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिनु भयो ।

प्रमुख कार्यकारी अधिकृत साउँदले विभिन्न समाचार माध्यामहरुले सेयर कारोबारसम्बन्धि विद्यमान ऐन, कानुनको व्यवस्था नबुझि सर्वोच्च सिमेन्टको ओटिसी सेयर नियामक निकाय आफैले खरिद विक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दावी समेत गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियमक निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए ।