काठमाडौँ – गृहयुद्धबाट थलथलिएको अफगानिस्तान सम्पूर्णरुपमा तालिवानको नियन्त्रणमा आएको छ । तालिवानले राजधानीस्थित राष्ट्रपति भवनमा पनि कब्जा जमाइसकेको छ । यस्तो अवस्थामा त्यहाका राष्ट्रपति अशरफ घानी देश छाडेर भागिसकेका छन् । उनीसँगै उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडिसकेको मिडिया रिपोर्टहरूमा उल्लेख छ । साथै, त्यहाका अन्य नेता सांसद् सबै मुलुक छोडर अन्यत्र गएको रिपोर्ट अन्तराष्ट्रिय मिडियाहरुमा आएको छ ।
नेता सांसद्बाहेक पनि त्यहाँका सर्वसाधारण पनि आफ्नो मुलुक छाडेर जाने क्रममा नै छ । सामाजिक सञ्जालहरुमा भाइरल बनेको विभिन्न तस्वीर, भिडियोमा उनीहरु देश छाडेर जान लागेको दृष्य देखिएको छ । अहिले राष्ट्रपति घानी कहाँ छन् भन्ने जिज्ञासा सबैको छ । राष्ट्रपति घानीले देश छाडे भन्ने समाचार आउनासाथ कोही ताजकस्तान, तुकिमिनिस्तान, काजकस्तान रहेको भन्ने खबर पनि आएको थियो ।
तालिवान लडाकुहरू काबुलतर्फ बढ्न थालेपछि राष्ट्रपति घानी भागेको अधिकारीहरूले पत्रकारलाई जानकारी दिएका थिए । शुरुवाती रिपोर्टमा गनी भागेर ताजिकिस्तान पुगेको उल्लेख गरिएको थियो । तर, अलजजिराको रिपोर्टमा गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तान राजधानी ताशकंद पुगेका छन् । राष्ट्रपतिका व्यक्तिगत बडीगार्डको हवाला दिँदै सो कुरा बताइएको छ । तर, सरकारले यसको पुष्टि गरेको छैन ।
उता, एक फेसबुक पोस्टमा अफगान नागरिकलाई सम्बोधन गर्दै गनीले राजधानी छाड्ने कठिन फैसला आफूले रक्तपात रोक्नका लागि लिएको बताएका छन् । आफू काबुलमा नै रहेको भए तालिवान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसमा लाखौँ जनताको ज्यान जोखिममा हुने उनले तर्क राखेका छन् ।
घानीले आफ्नो पोस्टमा लेखेका छन्, ‘आज मैले एउटा कठिन फैला लिनुपर्ने थियो कि राष्ट्रपति भवन प्रवेश गर्न चाहने सशस्त्र तालिवानको अगाडि खडा रहुँ या त मेरो प्यारो देश जसको सुरक्षाका लागि मैले आफ्नो २० वर्ष बिताएँ त्यसलाई छाडेर जाऊँ । यदि यो दौरान अनगिन्ती मानिस मारिने थिए र हामीले काबुल सहरको तबाही देख्नुपर्थ्यो भने ६० लाख आबादी भएको सहरमा ठूलो मानवीय त्रासदी हुने थियो ।’
घानीले तालिवानले तरबार र बन्दुकको बलमा जीत हासिल गरेको बताउँदै अब देश र जनताको जनधन र इज्जतको रक्षाको जिम्मा तालिवानको भएको जिकिर गरेका छन् । ‘तर उनीहरूले मानिसको हृदय जित्न सक्दैनन् । इतिहासमा कहिले पनि कसैले मात्र ताकतको भरमा यो हासिल गर्न सकेका छैनन् । अब उनीहरूले ऐतिहासिक परीक्षा सामना गर्नुपर्छ – या त अफगानिस्तानको नाम र इज्जत बचाउँछन् या अन्य क्षेत्र र नेटवर्क,’ उनले भनेका छन् ।
तालिवानसँग छलफल गर्नका लागि गठन गरिएको हाई काउन्सिल फर नेशनल रिकन्सिलिएनका अध्यक्ष अब्दुल्ला अब्दुल्लाले फेसबुकमा एक भिडियो जारी गर्दै घानीलाई ‘पूर्व राष्ट्रपति’ बताएका छन् । ‘उनले राष्ट्रलाई यस्तो स्थितिमा छाडेर गएका छन्, भगवान्ले उनलाई जिम्मेवार ठहराउनेछ र राष्ट्रले पनि न्याय गर्नेछ ।’
घानी दुई पटक अफगानिस्तानको राष्ट्रपति चुनिएका थिए । पहिलोपटक सन् २०१४ र दोस्रोपटक २०१९ मा । उनी देशको चर्चित शिक्षाविद् र रणनीतिकार मानिन्छन् । उनले आफ्नो करियरको लामो समय अफगानिस्तान बाहिर बिताए तर लामो युद्धपछि थिलथिलो बनेको देशको पुनर्निर्माणका लागि उनी फर्किएका थिए । राष्ट्रपति पद सम्हाल्दै गर्दा उनलाई इमानदार व्यक्तित्वको रूपमा हेरिएको थियो । तर, तालिवानले भने उनलाई जहिले पनि अमेरिकाको कठपुतली बताउँदै आएको थियो ।
बीबीसी


प्रतिक्रिया