राजनीति

राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ : अध्यक्ष कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। अफगानस्तानको घटनासँग २०६३ सालको विगतको तुलना गर्दै राजा देश जनताको सेवामा समर्पित भएकोमा पूर्वराजा शाहप्रति अझै आफ्नो सम्मान बढेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्। तालीवानी लडाकुहरुले अफगानीस्तान कब्जा गरेपछि अफगानी राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्दा नेपालमा २०६३ को जनआन्दोलनबाट पूर्वराजा शाहले सत्ता हस्तान्तरण गरेर देशभित्रै रही देश र जनताको सेवामा समर्पित भएको अध्यक्ष थापाले उल्लेख गराका छन् ।

‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो ।’

१९९४ मा ५० जना विद्यार्थीहरुको साथ पाएर सुरुवात भएको तालिवानले आज अफगानस्तानमा सत्ता कब्जा गरेको छ। तालीवानी लडाकुहरुले २० वर्ष लामो संघर्षपछि देश पूरै कब्जा गर्न सफल भएका हुन् । आइतबार मात्रै राजधानी काबुल पनि लडाकुहरुले कब्जा गरेपछि राष्ट्रपति घानी देश छाडेर भागेका छन् । अमेरिकी सेनाले अफगानीस्तान छाडेर गएपछि तालीवानी लडाकुहरुले देश कब्जा गरेका हुन् ।