राजनीति

विवाद यथावत् राखेर सारिएको काँग्रेस महाधिवेशन अब होला त ?


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले संविधानले दिएको समयसीमाभित्र प्रक्रिया सुरु गरेर आगामी मंसिरमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तर क्रियाशिल सदस्यताको विवादलाई यथाबत् राखेर परिमार्जन गरिएको कार्यतालिका अनुसार पनि महाधिवेशन हुनेमा ढुक्क हुने अवस्था भने छैन ।

यसअघि पाँचौपटक घिसार्दैघिसार्दै भदौं १६ देखि १९ सम्म ल्याएको काँग्रेसको १४ औं महाधिवेशन शनिबार छैटौंपटक परिमार्जनसहित सारिएको छ । अबको नयाँ कार्यतालिका अनुसार मंसिरको ९ देखि १३ सम्म काँग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्नेछ । नयाँ नेतृत्व चयनका लागि संविधानले निर्धारण गरेको साढे ५ वर्षको अवधि भदौ १९ मा सकिँदै छ । भदौभित्र पार्टीका आठवटै तहको अधिवेशन नसकिने भएपछि कांग्रेसले वैधानिकता जोगाउन भदौं १८ मा वडा तहको अधिवेशन शुरु गर्ने गरि महाधिवेशनको कार्यतालिका करिब तीन महिना पर सारेको हो ।

क्रियाशिल सदस्यताको विवादका कारण साउन १२ लाई तय भएको वडा अधिवेशन स्थगित भएको थियो ।त्यसयता गाउँ/नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रकै महाधिवेशन प्रभावित बनेपछि पार्टीको वैधानिक हैसियत गुम्ने खतरा बढेको थियो । तर भदौं १८ बाट वडा अधिवेशन शुरु गरेर मंसिर १३ मा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भएपछि अब वैधानिकताको जोखिम टर्ने विश्वास गरिएको छ ।

क्रियाशिल सदस्यतासहितका विवाद टुङगीएको छैन । करिब ९ लाख क्रियाशिल सदस्य बनाएको काँग्रेसमा केन्द्रीय नेतृत्वबाटै चलखेल र धाँधली भएको भन्दै नेता कार्यकर्ता आन्दोलित बनेका छन् । जसको विवाद समाधानका लागि शनिबार सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई जिम्मा दिएको छ ।

नयाँ कार्यतालिका अनुसार भदौ १८ मा वडा अधिवेशन तय गरेको नेपाली काँग्रेसले गाउँ, नगरपालिका अधिवेशन भदौ २७सारेको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १ मा, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० मा तोकिएको छ । त्यस्तै प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ तयमा भएको छ भने केन्द्रीय महाधिवशेन मंसिर ९ मा शुरु भएर १३ मा सकिनेछ । तर यसअघि पनि केन्द्रीय महाधिवेशन दुई पटक र स्थानीय तहका अधिवेशन तालिका तीन पटक सारेको काँग्रेसले छैटौंपटकको कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्नेमा आशावादी भएपनि ढुक्क बन्ने अवस्था छैन ।तर पनि कानुनी र व्यवहारिक रुपले फेरि पनि महाधिवेशन सार्ने छुट कांग्रेसलाई छैन ।