खेलकुद

महिला एसियन कपमा २८ खेलाडी छानिए, १३ सेप्टेम्वरबाट सुरु


काठमाडौँ – एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् ।

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिकबाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ । समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।