राजनीति

अफगानिस्तानका राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक


काठमाडौँ – तालिबान लडाकुहरुले सत्ता पल्टाउन लागेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानी अहिले आपतकालीन बैठक बोलाएका छन् ।

उनले अहिले अमेरिकी विशेष दूत जलमे खलीलजाद र उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० का उच्च अधिकारीहरूसँग वार्ता गरिरहेका छन् । यो बैठक तालिबान काबुलमा पस्दा पस्दै बसेको हो। शनिवार घानीले एक संक्षिप्त भिडियो सन्देश जारी गर्दै देश गम्भीर खतरामा रहेको बताएका थिए ।

उनले आफू अफगानिस्तानको सुरक्षा मजबुत बनाउन र सेनालाई संगठित गर्ने प्रयासमा लागिरहेको बताएका थिए । तालिबान लडाकु सोमवार बिहान काबुलको प्रवेशद्वारमा पुगेका हुन् । उनीहरु चारै दिशाबाट काबुलतिर बढिरहेका छन् ।

यसअघि उनीहरुले प्रमुख शहर जलालाबादलाई बिना कुनै प्रतिरोध आफ्नो नियन्त्रणमा लिएका थिए । अफगानिस्तानका सुरक्षा बल तीव्र गतिमा ढलिरहेका छन् । यसबाट राष्ट्रपतिमाथि राजीनामाको दबाब बढ्दै गएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षा दिन ५ हजार अतिरिक्त जवान काबुलमा उतारेको छ । अर्कातिर अमेरिका आफ्ना नागरिक र दूतावासका कर्मचारीलाई काबुलबाट तीव्र गतिमा निकालिरहेको छ ।

अफगानिस्तानको राजधानी काबुल आज बिहानैदेखि तीव्र गतिमा परिवर्तन भएको छ ।