राजनीति

भदौ २ सम्ममा कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउने


काठमाडौँ – नेपाली कांग्रेसले आगामी भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने भएको छ । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो ।

शनिबार सम्पन्न उक्त बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य लेखकले भदौ २ गते भित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा गत साउन २८ गतेदेखि प्रारम्भ भइ हिजो सम्पन्न बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते, केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने छ ।