राजनीति

काँग्रेस नयाँ विवादमा फस्दै, देउवाको प्रस्तावमा पौडेल पक्ष प्रतिवादमा उत्रियो, अब महाधिवेशन कहिले ? (भिडियोसहित)


काठमाडौँ – एकसाता अघिसम्म क्रियाशिल सदस्यताकै विवादमा घुमिरहेको नेपाली काँग्रेसको १४ औं महाधिवेशन थप नयाँ विवादमा जकडिँदै गएको छ । जसले महाधिवेशन थप अनिश्चित बन्दै छ भने काँग्रेस वैधानिकताको संकटमा पनि फसेको छ ।

विवाद समाधानतर्फ लम्कीएर महाधिवेशन गर्नुपर्ने भएपनि सत्तारुढ दल नेपाली काँग्रेसमा दैनानुदिन विवादका नयाँ श्रृखंलाहरु बाहिरीन थालेका छन् । एक साताअघिसम्म काँग्रेसभित्र क्रियाशिल सदस्यताको विषयमात्रै विवादको जड बनेको थियो । तर अहिले निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने खतरा बढ्दै गएका बेला विवादका नयाँ स्वरुप देखिन थालेका हुन् । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका जिल्ला सभापतिहरुले काठमाडौंमा छुट्टाछुट्टै छलफल चलाएर छुट्टाछुट्टै निष्कर्ष निकालेका छन् ।

जुन अभ्यास यसअघिका महाधिवेशनमा देखिएको थिएन । संस्थापन पक्षका जिल्ला सभापतिहरुले पौडेल पक्षले अनावश्यक विवाद झिकेको आरोप लगाएका छन् भने पौडेल पक्ष जिल्ला सभापतिहरुले देउवाले महाधिवेशन नगर्ने मनशायकै कारण कार्यतालिका प्रभावित पारेको आरोप लगाएका छन् ।

त्यस्तै विहिबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठक पनि निष्कर्षविहिन अवस्थामा छ । चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विषयमै फरकफरक मत देखिएपछि विवाद थप पेचिलो बनेको हो । दुई दिन चलेको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिदेउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने तर्क गरेपछि संस्थापनइतर पक्षले तत्काल प्रतिवाद गरेको थियो ।

देउवा पक्षका नेताहरूले स्थानीय र प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेपछि पौडेल पक्षका नेताहरूले त्यसको प्रतिवाद गरेका हुन् । पछिल्लो पटक संशोधित १४औं महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन शुरु भएको भए यतिवेला नेपाली कांग्रेसले वडादेखि जिल्लामा नयाँ नेतृत्व पाइसक्थ्यो ।

भदौ १६ देखि १९ सम्म हुने केन्द्रीय महाधिवेशनको घनिभूत तयारी चलिरहेको हुन्थ्यो । तर संस्थापन पक्षपार्टीको वैधानिकता कसरी जोगाउने भन्ने कानूनी छिद्रको खोजीमा छ भने पौडेल पक्षले यसलाई महाधिवेशन नगर्ने नियतका रुपमा बुझेको छ । जुनसुकै विकल्प अपनाएर भएपनि भदौभित्रै महाधिवेशन सुरु गर्नुपर्ने पौडेल पक्षको अडान छ । तथापी भदौंमा महाधिवेशन सम्भव नभएको निष्कर्षमा पुगेको काँग्रेस दुबै पक्षले ल्याएका फरकफरकप्रस्तावमा छलफल गरेर टुङगोमा पुग्ने दाबी गरेको छ ।

नेपाली काँग्रेसमा थपिएको अर्काे नयाँ विवाद हो, आमन्त्रित केन्द्रीय सदस्यको ।पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान भएपनि आमन्त्रित केन्द्रीय सदस्यका हकमा यो लागु नहुनेभएपछि शुक्रबार नै २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका थिए ।

उनीहरुका मागप्रति देउवा सकारात्मक भएपनि पौडेलले विधानमै वडाबाट चयन हुनुपर्ने व्यवस्था भएकाले स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग जायज नभएको बताए। फलतः पार्टी विधानअनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ ।

संविधान र पार्टी विधानअनुसार भदौ १९ भित्र महाधिवेशन गरिसक्नुपर्छ, जुन अब असम्भवप्रायः छ । तर, शीर्ष नेतृत्व भने मूल विवाद समाधानमा गम्भीर देखिएको छैन । हुँदाहुँदा नयाँ र पेचिला विवादले काँग्रेसलाई थप संकटमा पु¥याएको छ ।