राजनीति

एमालेमाथि लगातार हमला, माधवलाई आफ्नै सरकार ढाल्न कति मजा ? (भिडियोसहित)


काठमाडौँ – चुनावपछि एकीकृत बनेको नेकपा विघटनको पाँच महिनामै एमालेले संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सत्ता गुमाएको छ । पार्टीभित्रकै अन्तरकलहले श्रृखंलाबद्ध सत्ता गुमाईरहेको एमालेमा बाँकी रहेका दुई प्रदेश पनि संकटग्रस्त अवस्थामा छन् ।

बुधबार विपक्षी दलले सरकार ढाल्ने पुरापुर तयार गरेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुप¥यो । झण्डै पाँच महिनाको रस्साकस्सीपछि सबै विकल्पमा हार खाएर पोखरेलले राजीनामा दिएका थिए । यससँगै लुम्बिनीमाएमालेबाहेकका दलहरुले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाएर सरकार गठन गरेका छन् । विपक्षीले सरकार ढालेर सत्ता कब्जामा लिएसंगै निवर्तमान मुख्यमन्त्री पोखरेल तीतो अनुभवका साथ सत्ताबाट बाहिरीएका छन् ।

यस्तै खालको सत्ता बहिगर्मन एमालेले गण्डकी प्रदेशमा समेत ब्यहोरेको थियो । केही समयअघि मात्रै गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका थिए । त्यहीँ अवस्था बुधबार लुम्बिनी प्रवेशमा दोहोरीएको हो । पोखरेलको बहिगर्मनसंगै सत्ताको बागडोर सम्हाल्दा उत्साहित बनेका मुख्यमन्त्री केसीले केन्द्रले निर्देशित गरेको कार्यक्रम अनुसार नै सरकार सञ्चालन गर्ने दाबी गरेका छन् ।

गत निर्वाचनमा वाम गठबन्धनकै बलले अभूतपूर्व शक्तिसहित संघ र प्रदेश नम्बर २ बाहेकका ६ प्रदेशमा नेकपाको सरकार थियो । नेकपा विभाजनपछि पनि एमाले एक्लैले केन्द्र र ४ प्रदेशमा सरकारको नेतृत्व गरिरहेको थियो । तर दुर्भाग्यवश, ओली कित्ता र माधव कित्तामा विभाजित एमालेको अन्तरकलहले केन्द्र र दुई प्रदेशमा सरकार गुमाउनु परेको छ । केन्द्रमा एमालेकै माधव पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको अन्तरविरोध व्यवस्थापन नहुँदा सत्ता गुमाउने मात्रै होइन, बाँकी रहेको दुई प्रदेश समेत धरापमा परेका छन् । ओलीलाई सत्ताबाट बहिर्गमन गराउन माधव नेपाल पक्षले कांग्रेस, माओवादी केन्द्र र जसपासँग हात मिलाएको थियो । अझै पनि ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ र वाग्मतीमा नेपाल पक्ष निर्णायक अवस्थामा छ । विवाद साम्य नभए यस् दुई प्रदेशका मुख्यमन्त्रीहरुले पनि पदबाट हात धुनुपर्ने अवस्था आउने निश्चित छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको महत्वाकांक्षा र पदलोलुपताका कारण पार्टीभित्रै प्रधानमन्त्री र अध्यक्ष फेर्ने, पार्टीकैविरुद्ध विपक्षी दलसँग साँठगाँठ गर्न कार्यहरु निरन्तर भइरहेका छन् । जसले सरकार र सत्ता ढाल्न भूमिका त खेल्यो नै अब एमाले नै एक नरहने अवस्था बनेको छ ।यसबाट विपक्षी दलले फाइदा लिइरहेका छन् भने सरकार ढाल्ने र बनाउने अभ्यासले संघीयताको मर्ममाथि नै प्रहार भएको छ ।