राजनीति

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने कोसिस गरे : शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने बानी नगएको बताएका छन् । जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।

शनिबार दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पोखरेलले प्रचण्डलाई विश्वास गरेर चुनावी गठबन्धन गर्दै पार्टी एकतासमेत गर्दा पनि माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको प्रतिक्रियका दिएका हुन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैन्छ,’ पोखरेलले भने, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।’ नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए ।