राजनीति

राष्ट्रिय सभामा ओलीमाथि लाग्यो गम्भीर आरोप, सांसदबीच आरोप– प्रत्यारोप


काठमाडौँ – राष्ट्रिय सभाको बिहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । बैठकमा भारतले मिचेको भूमि फिर्ता ल्याउनेदेखि कक्षा १२ को परीक्षा बैकल्पिक विधिबाट गर्नुपर्नेसम्मका विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले बैठकलाई सम्बोधन गर्दै कोही कसैसँगको आग्रह÷पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमी फिर्ता गर्न माग गरिन् । राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमीबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूभि फिर्ता गर्नुपर्ने बताइन् ।

राष्ट्रिय सभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको बताइन् । उनले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्ने आँैल्याइन् । सामाजिक भत्ता दिँदा परिवारको आर्थिक सूचांकको आधार मानेर ६० वर्ष पुगेपछि भत्ताको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय सभा सदस्य उदय शर्माले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको आरोप लगाए । उनले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताए । बिस्तृत अध्ययन बिना हठातमा परीक्षा स्थगन गर्नुनहुने उनको तर्क थियो ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले दुईतिहाइ जनमतको कदर गर्न नसकेको नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाए । उनले नेपाली भूमी दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले सडक निर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आजको राष्ट्रियसभाको बैठकमा श्वेतपत्र प्रस्तुत गरेका थिए । उनले आफूले कोही कसैसँगको आग्रह÷पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखेको उनको जिकिर थियो । यस दस्तावेजमा पुल र सडक कति लामो बनाइयो भनेर उल्लेख नगरिने समेत उनले बताए । तथ्याङ्कमा श्वेतपत्र पूर्वाग्रही देखिएमा अर्थमन्त्रीको हैसियतमा त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताए ।