खेलकुद

‘पब्जी र टिकटक’ बन्द हुन लागेको हो ? बालबालिका विग्रनुमा अभिभावको पनि दोष (भिडियोसहित)


काठमाडौँ – अनलाईन खेलका कारण बालबालिकामा मानसिक समस्या बढेको तथा टिकटकका कारण अश्लिलता बढेको भन्दै बन्द गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

जुन विषय संसदमा समेत उठेपछि यसमाथिको चर्चा परिचर्चाले व्यापक रुप पाएको छ । तर यसअघि पनि पब्जी बन्द गरेपनि सफल नभएको परिप्रेक्षमा सरकारले यस विषयमा थप कदम चाल्नेमा धेरैको विश्वास छैन । साथै यस्ता खेल तथा सन्जालमाथि प्रतिबन्ध कि नियमन भन्ने बहस समेत सुरु भएको छ ।

पछिल्लो समय पब्जी र फ्रीफायर लगायतका अनलाइन गेमहरू तथा टिकटक जस्तो सामाजिक सञ्जाल बन्द गर्नुपर्ने विषयमा बहस भैरहेको छ । गत साउन १२ गते प्रतिनिधि सभा सांसद आशाकुमारी विकले अनलाइन गेम बन्द गर्न माग गरिन । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले अनलाइन गेम पब्जी, फ्री फायरले बालबालिकालाई मानसिक रोग निम्त्याउने काम गरेको भन्दै सरकारसंग यस्तो माग गरेकी हुन ।

साथै उनले सरकारले अनलाइन गेम बन्द नगरे न्याय खोज्दै अभिभावक अदालत जानुपर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएकी थिईन । यो मागसंगै तातिएको अनलाइन गेमहरू बन्द गर्नुपर्ने बहस अझै सेलाएको छैन । बरु योसंगै टिकटकमा पनि अश्लिलता बढेकोले यो पनि बन्द हुनुपर्ने बहस थपिएको छ । जुन विषय यसअघि पनि बारम्बार उठ्दै आएको थियो । भारतमा पनि त पब्जी, फ्रिफाएर, टिकटक लगायतका एप अहिलेपनि प्रतिबन्धमा छन् ।

नेपालमा पनि यसअघि सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन । जसबाट यो नियमन गर्न सकिने तर नियन्त्रण गर्न भने नसकिने अवस्था रहेको जानकारहरु बताउछन । शिक्षा क्षेत्रका जानकार समेत यसले अध्ययन वा वालवालिकामा असर पुर्याएको कुरामा अभिभावक स्वयम नै बढि जवाफदेही हुनुपर्ने बताउछन । अर्थात यसलाई प्रतिबन्ध भन्दा सिर्जनशील प्रयोगतर्फ सबैको ध्यान जानुपर्ने उनीहरुको सुझाव छ ।

कोरोनाका कारण घरभित्रै बन्द हुनुपर्दा यस्ता खेल खेल्ने तथा समाजिक सन्जाल चलाउनेहरु अझ बढेका छन् । अभिभावकहरूले सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण पनि अनलाइन गेममा आकर्षण बढिरहेको छ । साथै अनलाईन कक्षाका कारण वालवालिकामा पनि मोवाईल र ईन्टरनेटको पहुँच बढेको छ । तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै गर्छ भन्न नहुने जानकारहरु बताउछन । राम्रोसँग नियमन गरेर अघि बढाइएको अवस्थामा अनलाइन गेमिङ आफैमा एक किसिमको व्यवसाय या पेसा जसरी फस्टाउने यसका जानकारहरुको दाबी छ । अर्थात यसलाई बन्द गर्न भन्दा नियमन गर्न उनीहरुको सुझाव छ ।

यता मनोविश्लेषकहरु भने ग्याजेटको लतका कारण वालवालिकाको सिर्जनशिलतामा आँच आउने दाबी गर्छन । झर्किने, अटेरी हुने, एकोहोरो हुने जस्ता समस्या उनीहरुमा देखा पर्ने र यसले दिर्घकालिन मानसिक असर समेत पुर्याउने उनीहरु बताउछन । अहिले विश्वनै डिजिटल बनि सकेको र विस्तारै शारीरीक भन्दा भर्चुअल खेलहरुको ट्रेन्ड चल्दो छ । अर्कातर्फ यसलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न सकिने पनि प्रसस्त आधार छन । अहिले पनि सयौँको संख्यामा यस्ता गेमहरु छन ।

जसमा केहि मात्र चर्चित भएका हुन । त्यस्तै सामाजिक सन्जाल विशेषत टिकटकमा पनि अश्लिलता बढ्दो छ । त्यसको पनि नियमन जरुरी छ । तर गेम र यसलाई एउटै डालोमा हाल्नुभन्दा विशिष्टकृत भएर व्यापक वहस चलाउन जरुरी छ ।