राजनीति

देउवा निवासमै नेता कार्यकताको आन्दोलन, पैसामा सदस्यता किनबेच गरेको आरोप (भिडियोसहित)


काठमाडौँ – तोकिएकै मितिमा महाधिवेशन हुने हो भने नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आउन अब मात्र तीन साता बाँकी छ । तर वडातहदेखि केन्द्रसम्मको महाधिवेशन हुने कुनै टुङगो छैन । यसैकारण नेता कार्यकर्ता नेतृत्वमाथि रुष्ट बन्न थालेका छन् ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवासलाई पार्टी कार्यालय बनाउनु हुन्न भन्ने सुझावलाई ग्रहण गर्दै वालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा नै गरेका छन् ।यसैकारण पार्टीका सम्पूर्ण गतिविधि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपाबाटै गर्नुपर्ने भएपनि देउवाले आफ्नै निवासलाई बैठक थलोको रुपमा प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय नजिकिएको १४ औं महाधिवेशनसंगै विवादहरु पनि बढ्दै गएपछि पार्टी कार्यालय सानेपामा हुने धर्ना र प्रदर्शनबाट बच्न देउवाले आफ्नै निवासमा पार्टीका गतिविधि गर्न थालेका हुन् । तर विहिबार पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताको ठुलो दलबलले देउवा निवास अघि नै प्रदर्शन गरेको छ ।

तोकिएकै मितिमा महाधिवेशन गरेर पार्टीलाई वैधानिक संकटबाट बचाउनुपर्ने भएपनि नेतृत्वले विकल्पबारे सोच्न थालेपछि कार्यकर्तापंक्तिमा असन्तुष्टि बढेको हो । नेतृत्वले क्रियाशिल सदस्यताको विवाद सल्टाउन नसकेको र विधि र पद्दतीभन्दा बाहिर गएर मनलाग्दी क्रियाशिल सदस्यता बाँढेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।नेता कार्यकर्ताहरुले सभापति शेरबहादुर देउवाबाटै यस्ता खाले गतिविधि भइरहेको आरोप लगाएका छन् ।

कांग्रेसमा महाधिवेशन नजिकिएसंगै क्रियाशिल सदस्यतामा ठुलो चलखेल हुँदै आएको छ । नेतृत्व चयनका लागि वडादेखि केन्द्रसम्मै क्रियाशिल सदस्यता निर्णायक हुने भएकाले नेताहरु ध्यानमात्रै जाने होइन कब्जासमेत गर्ने परिपाटी बनेको छ । अझ कतिपय जिल्लामा क्रियाशिल सदस्यता किनबेच भइरहेको कार्यकर्ताहरुले आरोप लगाइरहेका छन् ।

विहिबार केन्द्रीय कमिटीको बैठक बस्नुअघि विरोध प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तालाई सभापति देउवाले छिट्टै विवाद मिलाउने आश्वासन दिएका छन् । जबकि समयमै पार्टी महाधिवेशन गर्न सकिने वा नसकिने भन्नेमा मतान्तर बढ्दै गएको छ । उता भदौंभित्र महाधिवेशन नगरे पार्टीको वैधानिकता गुम्ने खतरा छ ।

पार्टी सभापति देउवाले तीन साताभित्र महाधिवेशन गर्न असंभव भएको भन्दै सार्नका लागि कानूनी आधार खोजिरहेका छन् । अर्कोतर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संविधानमा उल्लेख समयसीमा भित्रै महाधिवेशन गर्न सकिने अडान र तर्क अघि सारिरहेको छ ।