राजनीति

युवा दिवस नारामा सिमित : देशको बागडोर बृद्धको हातमा, कहिले देखिएला नेतृत्वमा युवा अनुहार


काठमाडौँ – कोरोनाको प्रभावका कारण अन्तराष्ट्रिय युवा दिवस अघिल्ला वर्षहरुमा जस्तै तामझामका साथ मनाइएन । देशका महत्वपूर्ण निकायमा युवा पुस्ताले भुमिका नपाएको भन्दै पछिल्लो समय ओलोचना हुने गरेको छ । कतिपय स्थानमा अवशर नपाएर युवाहरु पछि परेका छन् भने कतिपय स्थानमा भने अवशरको सही सदुपयोग नहुँदा युवाप्रतिको आशा निराशामा परिणत भएको छ ।

बर्सेनि अगष्ट १२ मा तामझाम र भव्यताका साथ पाँचतारे होटलमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । युवालाई देशको कर्णधार र परिवर्तनको संवाहक मानिएकाले उनीहरूले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने टिप्पणी पनि भइरहन्छन् ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि भएका आन्दोलनमा युवाको उपस्थिति उलेख्य देखिएकै छ । तर, राष्ट्रलाई समृद्ध बनाउने भूमिकामा भने युवा शक्ति अलमलिएको पाइन्छ । आफ्नै देशमा रोजगारीको अवसर नपाएको भन्दै कतिपय युवाहरुको घरखेत बन्धकी राखेर वैदेशिक रोजगारीमा गइरहेका छन् ।

अध्ययनका लागि विदेश गएका युवाहरु पनि कतिपय त उतै पलायन भइरहेका छन् । देशमा रहेकाहरू पनि धेरै बेरोजगार छन् । जतिले आफैं अवसर सिर्जना गरेका छन् त्यो नगण्य छ । राजनीतिमा लागेका युवाको भूमिका पनि हस्तक्षेपकारी देखिएको छैन । यता युवाहरु भने सरकार फेरियो व्यवस्था फेरियो तर, युवाहरुको लागि कुनै सरकारले स्वदेशमा रोजगार दिन नसकेको गुनासो गर्छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै गर्दा दिवसको उद्देश्यअनुरूप युवा शक्ति परिचालन भने हुन सकेको छैन । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ । तर, जुन सरकार आएपनि युवाहरुका लागि कुनै उपयुक्त काम नगरेको युवाहरु बताउछन् ।

नेपालमा रोजगारी नपाएकै कारण भएका युवा पनि विदेशमा श्रम बेच्न बाध्य देखिएका छन् भने स्वदेशमै रहेकाहरुको काम पनि सन्तोषजनक देखिएको छैन । राजनीति मात्रै नभएर हरेक क्षेत्रमा युवाहरुको हस्तक्षेपकारी र प्रभावकारी भूमिका देखिदैन ।

त्यसो त अहिले कोभिड–१९ को कारणले लाखौँ युवा बेरोजगार बन्नु परेको अवस्था छ । त्यसैले सरकारले ती युवालाई समेटेर रोजगारीका व्यववस्था मिलाउनु आवश्यक छ ।