बिजनेस

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, साढे १७ अर्बको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १६.३ अंकले बढेर ३ हजार १७८ अंकमा पुगेको छ । जुन अंक अहिलेसम्मकै उच्च हो । तीन दिनदेखि बजारमा उच्च अंकको नयाँ रेकर्ड बन्दै आएको छ। यसअघि मंगलबार ३१६२ र बुधबार ३१६३ को रेकर्ड बनेको थियो।

आज कारोबार रकम पनि बढेको छ । यस दिन २ सय २५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबार भएका सात कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, माउन्टेन इनर्जी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफका लगानीकर्ताले सबैभन्दा १० प्रतिशतले कमाएका छन् ।

बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो हुँदा बाँकी समूह राताम्मे भए ।