राजनीति

कुलमानको पुनःनियुक्तिले दिएको सन्देश, ओलीले नचाहेकालाई देउवा सरकारले काँध थाप्यो


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पुनःनियुक्त पाएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेपछि बुधबार उनीले पदबहाली गरेका हुन् । तर कुलमानका अघि चुनौतिका चाङ लागेका छन् ।

नेपालको कर्मचारीतन्त्रमा जनस्तरबाटै सबैभन्दा बढी खोजिएका र रुचाईएका पात्र हुन् कुलमान घिसिङ ।उनको विदाईमा जनतामा देखिएको निराशापन र पुनः नियुक्तिमा देखाएको उत्साह कुनै राजनेता भन्दा कम्ताको छैन । नेपाल विद्युत प्राधिकरणमा पहिलोपटकको कार्यकाल सम्हाल्दा कुलमानले देशलाई लोडसेडिङ मुक्त गरे ।

चारबर्षे कार्यकाल पुरा गरेर घर फर्किदा ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई कुलमानले करिब १२ अर्ब नाफाको ग्राफमा चढाएपछि उनको चौतर्फी वाहवाही भएको थियो ।उनै कुलमानलाई बुधबार सरकारले ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार बर्षका लागि नियुक्त गरेको छ । नियुक्ति लिएसंगै कुलमानले आफू ठूलो चुनौति लिएर आएका बताउँदै काम नगर्ने कसैलाई उन्मुक्ति नहुने स्पष्ट पारेका छन् ।

२०७३ को भदौ २९ मा पहिलोपटक कार्यकाल सम्हालेका कुलमानले गतबर्षको भदौ २९ मा चारबर्षे कार्यकाल सकाएर घर फर्किएका थिए । केपी शर्मा ओलीको तत्कालिन सरकारले कुलमानलाई नै पुनःनियुक्त गर्नुपर्ने भन्दै आएको जनआवाजलाई दबाउने काम गरेको थियो ।

उनको पुनर्नियुक्तिलाई लिएर सामाजिक सञ्जालदेखि सडकमा प्रदर्शनसम्म गरिए । तर तत्कालिन सरकारले वास्ता गरेन, बरु उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको जिम्मा लगाईदियो । यसैकारण सरकारले जनस्तरबाटै आलोचना र विरोध खेप्नु प¥यो ।

अहिले सरकार परिवर्तन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै कुलमानको नियुक्ति हुने चर्चा शुरु भएको थियो । नभन्दै सरकारले बुधबार कुलमानलाई पुनः नियुक्त दिएको हो । तर सरकारले एउटै व्यक्तिबाट मात्रै प्रणाली चल्छ भनेर अरुलाई विश्वास नगरेको भन्दै आलोचना पनि भइरहेका छन् ।

दोस्रोपटकको नियुक्तसंगै कुलमानलाई अवसर र चुनौति दुबै देखिएका छन् । अवसरको सदुपयोग गर्दै देशलाई विद्युतको क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने र अन्य देशलाई बेच्न सक्ने बनाउने चुनौती उनमा छ । त्यसबाहेकको सबैभन्दा ठूलो चुनौती पहिलो कार्यकालको छबी बचाईराख्नुपर्नेछ ।कुलमान बाहिरीएसंगै कमजोर बनेको व्यवस्थापनलाई चुस्त बनाई हाल हुँदै आएको १७ प्रतिशत विद्युत चुहावट रोक्नुछ ।

डेडिकेटेड र ट्रंकलाइनको सुविधा उपभोग गरेवापत प्राधिकरणले १५ अर्बभन्दा बढी रकम उठाउनुपर्नेछ । त्यस्तै गत आर्थिक वर्ष प्राधिकरणको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ अर्बले घटेको छ । यसलाई पनि बढाएर नाफाको ग्राफलाई उचाईमा पु¥याउनुपर्ने चुनौतिहरु छन् । जसमा कुलमानले कस्तो कार्यकौशलता देखाउँछन् त्यसैले उनको पुनःनियुक्तिलाई सार्थक बनाउनेछ ।