राजनीति

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने तयारी


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू अल्पमतमा पर्ने भएपछि राजीनामा दिने भएका छन् । अहिले लुम्बिनी  मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकपछि पोखरेलले राजीनामा दिने स्रोतले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजेका लागि बोलइएको छ ।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधवनेपाल पक्षसहित का ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ । विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।