राजनीति

नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव


काठमाडौँ – नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । ललितपुरमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो । बैठकले २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार जसमा अध्यक्ष एक जना, दुई उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव र ७ जना सचिव हुने उल्लेख छ । उनीहरूमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने प्रस्ताव गरिएको छ । अरू केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । संविधानको परिकल्पना अनुसार समावेशितालाई पनि कार्यान्वयन गर्ने भनिएको छ ।

यस्तै स्थायी कमिटी खारेज गरेर अब पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्र रहने प्रस्ताव गरिएको छ । प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर, पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट पार्नुभयो ।