राजनीति

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा, परराष्ट्रका ३ उपसचिवको बढुवा


काठमाडौँ – सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो । त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।