कोरोना विशेष

खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौँ – संसदीय समितिले कारोना भाइरसविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिनुभयो । समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति जैैरुले कोभिड संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो भेरियन्ट आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको स्पष्ट पार्नुभयो । बैठकमा समितिका सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए ।