राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो । बैठकले विधान संशोधनका लागि स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमाथि छलफल गर्नेछ । नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गर्नुभएको छ ।

यसअघि आजै बसेको स्थायी समिति बैठकले अब पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ । स्थायी समिति बैठकबाट उक्त प्रस्ताव पारित भएको हो । स्थायी समिति बैठकमा अब हुने दशौँ महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव भएको हो ।

उक्त प्रस्तावलाई स्थायी समितिले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको छ । पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नेछ । बाँकी रहेका पदाधिकारी निर्वाचित सदस्यहरुबाट छनोट गरिने गरी प्रस्तावमा समेटिएको छ ।