राजनीति

निर्वाचन आयोगद्वारा उपेन्द्र यादवलाई जसपाको एकल अध्यक्षको मान्यता

महन्थ ठाकुरसहित १६ जनाको केन्द्रीय सदस्य पद पनि खोसियो


काठमाडौँ – उपेन्द्र यादवले आधिकारिकता पाएपछि जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण निर्वाचन आयोगले अध्यावधिक गरेको छ । यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।

आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्ष मात्र होइन केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका हुनुभएको छ । ठाकुर समूहका नेतालाई पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहनेछ ।