राजनीति

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश


काठमाडौँ – सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आगामी भदौ १ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सो मितिसम्म यससम्बन्धी सबै कामकारवाही र गतिविधि यथास्थितिमा राख्न आदेश गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले संवैधानिक दायित्व अन्तर्गत गठन गरेको आयोगलाई स्वामित्व ग्रहण नगरी राजनीतिक प्रेरणाबाट प्रभावित रही खारेज गरेको भन्दै अध्यक्ष देवी ज्ञवाली साउन २४ मा रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको थियो । भूमिआयोग खारेजविरुद्ध अरु तीन वटा रिट पनि सर्वोच्चमा दर्ता भएका थिए ।