राजनीति

प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्रा अर्को चरणमा


काठमाडौँ – आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा पर्खिरहेका नागरिकलाई एस्ट्राजेनेका खोप लगाइदै छ। तर यो खोप अभियान भने अहिले बागमती, गण्डकी र लुम्बिनीमा मात्रा सञ्चालन हुनेछ। प्रदेश १ र २ मा भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइरहेकाले अर्को चरणमा कोभिसिल्डको दोस्रो मात्रा दिइने छ।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बागमतीका सबै जिल्ला र गण्डकी र लुम्बिनीको केही जिल्लामा मात्र आजदेखि कोभिसिल्डको दोस्रो मात्रा खोप लगाइने बताए।

कोभिसिल्डको दोस्रो मात्राका रुपमा सरकारले एस्ट्राजेनेका खोप लगाउँदै छ। यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका झन्डै १४ लाख नागरिकले पाउने छन्।

‘खोप पठाइएका जिल्लामा पालिकाले आफ्नो अनुकूल खोप कार्यक्रमको सुचना जारी गरी खोप अभियान संचालन गर्नेछन्,’ डा गौतमले भने।

उनले नेपालगन्ज र धनगढीमा आज खोप पठाइने भएकाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही जिल्लामा भने पर्सीबाट खोप कार्यक्रम सुरु हुनेछ।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई पनि लगाउने निणर्य गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने प्राथमिकता राख्ने निणर्य गरेको छ।

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकणर्ेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ।

महानगरपालिकाको हकमा राधास्वामी आइसोलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ।