राजनीति

तराईका दुई जिल्लामा ठाकुर पक्षले कार्यकर्ता भेला गर्दै


काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षले आज पनि तराई मधेशका दुई जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ। ठाकुर पक्षले नवलपरासी र बर्दियामा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो ।

उक्त अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छ । आज नवलपरासीमा हुने भेलालाई नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र मुकेश झाले सम्बोधन गर्दैछन्। त्यसैगरी बर्दियामा एकबाल अहमद र सुनिल रोहितले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले जानकारी दिए।

पार्टीको आधिकारिकता गुमाएको जसपाको ठाकुर–महतो पक्ष दलबिहीनको अवस्थामा छ। नयाँ पार्टी गठनको तयारी स्वरुप यो समूह अहिले तराईका सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिरहेको छ। गएको शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म सञ्चालन हुने ठाकुर महतो समूहले जनाएको छ।

ठाकुर महतो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा, कैलाली, सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला गरिसकेको छ।