समाचार

कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेकालाई आजबाट एस्ट्रानजेनेका खोप लगाइने


काठमाडौँ – कोरोनाविरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई आजबाट एस्ट्राजेनेका खोप लगाउँदै छ । सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउन लागेको हो ।

यस अभियान अन्तर्गत प्रदेश १ र २ बाहेक देशमा पाँचवटै प्रदेशमा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । प्रदेश १ र २ मा भने केही समयभित्र नै खोप लगाउने मिति तोकिने विभाग शाखाका प्रमुख झलक शर्मा गौतमले बताउनु भयो ।
त्यसै गरी काठमाडौँमा भने यो खोप लगाउनका लागि १ सय ४४ खोप केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् ।

कोभ्याक्स अन्तर्गत जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप सहयोग गर्ने घोषणा गरेको छ । जसमा करिब आठ लाखभन्दा बढी खोप नेपाल आईसकेको छ । बाँकी खोप अर्काे साता आउने भएको छ । त्यस्तै भुटानबाट पनि नेपाललाई यही खोप तीन लाख पठाईएको छ ।