राजनीति

सरकारले बाढीपीडितलाई राहत दिन ढिलाइ गरेकोमा दाहालको असन्तुष्टि


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको जनाएका हुन् ।

अध्यक्ष दाहालले उक्त क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफ्नो पार्टीका तर्फबाट पनि बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे ।

नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै उनले त्यसलाई न्यूनीकरण गर्न सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।