राजनीति

मन्त्रीमण्डललाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ – मन्त्रीमण्डलको टुंगो लगाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । शनिबारको लागि तय भएको बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर भएका कारण हुन आजका लागि तोकिएको थियो ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताहरु सहभागी हुनेछन् । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। उक्त बैठकमा मन्त्रिमण्डल गठन र शक्तिबांडफांडबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको आज २७ दिन हुंदा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । आज बस्ने बैठकमा शीर्ष नेताहरुको सहमति भए सोमबारभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।