खेलकुद

टोकियो ओलम्पिकको आज अन्तिम दिन, पदकमा चीन र अमेरिकाको मुख्य प्रतिस्पर्धा


काठमाडौँ – विश्व खेलकुदको महाकुम्भ ३२औं ग्रिष्मकालीन ओलम्पिकको समापन आज हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह आयोजना गरिनेछ ।

विश्वकै सबैभन्दा ठूलो खेलकुद मेलामा २ सय ६ देशले प्रतिनिधित्व गरेका छन् । जारी ओलम्पिकमा शीर्ष स्थानमा रहेको चीनलाई अमेरिकाले चुनौती दिएको छ । चीन भन्दा अमेरिका दुई स्वर्ण पदकले मात्रै पछाडि रहेको छ । आज हुने स्पर्धामा अमेरिकाले पाँचवटा फाइनल खेल्दैछ । कम्तिमा दुई स्वर्ण जितेको अवस्थामा पदकतालिकामा चीन दोस्रो स्थानमा झर्नेछ । रजत र कास्यमा चीन भन्दा अमेरिका धेरै अगाडि रहेको छ ।

चीनले ३८ स्वर्णसहित ८७ पदक जितेको छ भने अमेरिकाले ३६ स्वर्णसहित १०८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित ५६ पदक जितेको छ । जारी ओलम्पिकमा नेपालले पनि प्रतिनिधित्व गरेको थियो ।