राजनीति

मंसिरमा महाधिवेशन गर्न सभापति समक्ष महामन्त्रीको प्रस्ताव


काठमाडौँ – कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव गरेका छन् । उनले कोभिड–१९ को समस्या रहेकाले मङ्सिरमा गरौँ भनेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर यस्तो प्रस्ताव राखेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘साउन २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सबै विषयमा छलफल हुनेछ, स्वाभाविक नै छ, त्यस बैठकमा पार्टीको महाधिवेशनको नयाँ कार्यतालिका विषयमा समेत छलफल हुनेछ ।’ क्रियाशील सदस्यको विवाद मिलाउने कुरा पनि त्यतिबेला टुुङ्गिने विश्वास व्यक्त गर्दै महामन्त्री कोइरालाले बताए, ‘संवैधानिक र कानुनी व्यवस्थाका विषयमा हामी छलफल गर्नेछौँ । तल्लो तहदेखि माथिल्लो तहसम्म पूरै अधिवेशन गराउँछौँ ।’

स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ भने केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका भदौ १६ गतेबाट हो । यस विषयमा उहाँले भदौ १६ मा सम्पन्न गर्न कठिन छ, कोरोना झन् बढ्दै छ, त्यसैले केन्द्रीय कार्यसमितिले नयाँ कार्यतालिकाका विषयमा निर्णय गर्ने जानकारी दिए । गोरखापत्रबाट ।