देश

सामाजिक सञ्जालमा भाइरल भएपछि सल्यानको मालनेटामा पर्यटनको सम्भावना बढ्यो


काठमाडौँ – प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशको अनुपम स्थल हो सल्यान जिल्ला । जसमध्ये अदुवाका लागि एसियामै प्रख्यात मालनेटा यही जिल्लामा पर्छ । स्थानीयस्तरको सुन्दरताकै कारण आन्तरिक पर्यटकको सम्भावना भएपनि सरकारी तहबाट आवश्यक पहलकदमी आवश्यक देखिन्छ ।

यो हो गाउँ ।पहाडी भुभाग, हरियो वनजंगल, अग्लाहोचा हरिया चौर, कृषि भुमि, गाउँले परिवेश, चिटिक्क मिलेका मौलिक घरहरु, अदुवा र टिमुरको बासनादार बहार, लहरै मिलेका डाँडाहरु सल्यानको मालनेटा गाउँका बिशेषता हुन् । झन यहाँको लेखापोखरा चौर सामाजिक संजालमा भाइरल भएपछि अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पहाडको बीचमा लमतन्न परेको पाटन जस्तो देखिने यो चौरको माँझ भागमापिपलको रुख छ, वरिपरि बस्तुभाउँको चरान र मेलापातको विसौनी स्थलका रुपमा रहेको यो क्षेत्र अहिले घुम्न रुचाउँने युवायुवतीको रोजाइमा परेको छ । यसकारण यहाँका स्थानीयहरुले होमस्टे लगायतका पूर्वाधार निर्माणबारे सोचिरहेका छन् ।

सल्यानको प्रमुख व्यापारिक केन्द र सदरमुकाम नजिकै रहेकोयस गाउँमा होम स्टेहरु निर्माण गरि यहाँका स्थानीय उत्पादनलाई खपत गर्न सकिन्छ । अदुवा, सिमी, टिमुर, कोदो, मकै, गहुँ र सिस्नोलाई आयआर्जनको माध्यम बनाउने स्थानीयको परिकल्पना छ । त्यसमध्ये पनि अदुवा यो क्षेत्रको पहिचान हो ।अदुवाका लागि नेपालको मात्रै नभएर एसियाकै प्रख्यात ठाउँका रुपमा चिनिएको मालनेटामा रेशाविहिन अदुवा फल्छ । तरकारी, मसला र औषधिको रूपमा प्रयोग हुने अदुवा जति कम रेशा उति धेरै उत्कृष्ट मानिन्छ । यहाँका स्थानीयले प्रतिघर ३० हजारदेखि १ लाखसम्मको आदुवा फलाउँदै आएका छन् ।

यहाँको अदुवालाई अझै व्यवसायिक बनाउन नसकिएपनि वार्षिक १० करोडभन्दा बढी मूल्य बराबरको अदुवा जिल्लाबाहिर निकासी हुँदै आएको छ । निर्वाहमुखी कृषि प्रणाली मै चित्त बुझाउनु पर्ने अवस्थामा रहेका कृषकहरुले सिंचाई सुविधा र जलवायु परिवर्तनको समस्या झेलिरहेका छन् ।प्रकोपसँग जुध्ने क्षमता विकास नहुनु जस्ता चुनौतीहरुले गर्दा यहाँको अदुवा खेती संकटमा पर्ने सम्भावना पनि उत्तिकै देखिन्छ । तैपनि यहाँको उत्पादन र सम्भावनालाई लिएर स्थानीयतह सकारात्मक बन्दै गएका छन् ।

यहाँ पर्यटक ल्याउनका लागि होम स्टे निर्माणदेखि सडक पूर्वाधार सुधारको आवश्यकता छ । जसका लागि नगरपालिकाकै पहलकदमी स्थानीयले पर्खिरहेका छन् । मालनेटालाई अदुवाकै पकेट क्षेत्र बनाई बजारीकरण गर्न स्थानीयबासिन्दा लाभान्वित हुनेछन् ।