राजनीति

एमाले विवादले देखाएको ओली र नेपालको हैसियत

धम्काएरै तह लाउने सोचेका ओली किन लिदैनन् ठोस निर्णय ?


काठमाडौँ – नेकपा एमाले भित्रको विवाद गिजोलिएको लामो समय भईसकेको छ । ओली र माधव दुवै पक्षले पार्टी एकताका लागि सकारात्मक रहेको बताएपछि सो अनुरुप एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । यहि बीचमा नेपाल समूहलाई ओली पक्षले अल्टिमेटम दिएको छ । यस अघि पनि बारम्बार यस्ता म्यादलाई वेवास्ता गरेको नेपाल पक्षले यो पटक के गर्ला ? अनि पार्टी एकताको लागि ओली पक्षको तयारी के छ त ?


सरकारमा सहभागिताका लागि सत्ता गठबन्धनले दबाबस्वरुप मन्त्रिपरिषद् विस्तार नगरी पर्खिरहेको अवस्थामा एमालेको नेपाल पक्षले केन्द्रीय कमिटी बैठक सम्पन्न गर्यो । बैठकमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए । ओलीले अल्मल्याउन खोजेको त होइन भन्ने धेरैको आशंका भएपनि त्यस्तो नहोला भन्ने आफ्नो विश्वास भएको भन्दै नेपालले एकतामा जोड दिने बताएका थिए । अर्थात आफूहरु नलतारिने र सम्मानजनक एकताको पक्षमा रहेको नेपाल पक्षको निष्कर्ष छ । आफूहरू सत्तापक्षमा नरहेको बताउँदै उनीहरुले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको बताएका थिए । बैठकले पार्टी सदस्यता नवीकरणका काम तत्काल रोक्न अध्यक्ष ओली पक्षलाई माग गरेको थियो । पार्टी एकताका काम भइरहेका बेला पार्टी सदस्यता नवीकरण गर्न नहुनेमा बैठकले ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो ।

यता ओली पक्ष पनि आफू एकताका लागि तयार रहेका बताउँछ । नेपाल पक्ष नै फुटको बाटो तर्फ अग्रसर भएको यो पक्षको आरोप छ । पार्टी भित्र कुनै पनि सैद्धान्तिक विषयमा वादविवाद नभएका कारण पक्ष विपक्षको कुरै नआउने उनीहरको तर्क छ । पछिल्लो अवस्थामा पार्टी एकताको आधार कार्यदलले तयार पारेको दशबुँदेमा रहेकोले त्यसमै टेकेर दुबै पक्षलाई घाटा नहुने गरी मिलाएर जानुको अर्को विकल्प नभएको ओली पक्षीय नेताहरु बताउँछन । महाधिवेशनमा हार्नेले भाग माग्न नमिल्ने उनीहरुको भनाइ छ ।

अवस्था कस्तो सम्म छ भने ठोस निर्णय लिन नसक्ने दुबै पक्षले एकताको पक्षमा रहेको भने रटान लगाउन छाडेका छैनन् । नेपाल पक्षले एकताकै लागि सरकारमा जान आलटाल गरिरहँदा ओली पक्षले भने अन्तिम निर्णयका लागि अल्टिमेटम नै दिएको छ । पार्टी हितविपरित रहेको नेपाल पक्षले कि एमाले कि ओलीको विकल्प दिएर विवादलाई निरुपण भन्दा अझ गिजोल्न लागि परेको ओली पक्षको आरोप छ । मिल्न आए उचित भूमिका दिइने र नआएपनि पार्टीका कुनै पनि गतिविधि नरोकिने खनेली पक्षकोे चेतावनी छ ।

यस अघि पनि ओली पक्षले बारम्बार दिएको अल्टिमेटम नेपाल पक्षले वेवास्ता गरेरै टारेको थियो भने ओली पक्ष पनि आफ्नो निर्णयमा अडिग रहन सकेको छैन । अर्थात नेपाल विहिन एमाले निर्माण उनीहरुका लागि त्यति सहज देखिँदैन । यता नेपाल पक्षपनि यहि कमजोरीमा खेल्ने तर माग लगायतका विषयमा ठोस निर्णय चाँहि नगर्ने गरिरहेको छ । फलत: लम्बेतान बन्दै गएको एमाले भित्रको विवाद न त समाधान उन्मुख छ नत ओली–नेपाल दुबैले पार्टी एकताको पक्षमा रहेको भन्न छाडेका छन् । जसले ताल परे देखाई दिने दुबै पक्षको धम्कीको वास्तविक धरातल छर्लङ पारेको छ ।