राजनीति

सबैको प्रयासले मात्र कोरोना रोकथाम सम्भव छ : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा प्रधानमन्त्री देउवाले सरकारको एक्लो प्रयासले मात्र कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएका हुन् । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकोले अभियान चलाइएको उनले बताए ।

प्रधानमन्त्री देउवाले कोरोनाभाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए । उनले भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै भौतिक दूरी कायम गर्न, बेला–बेलामा साबनु–पानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सबैमा आह्वान गरे । उनले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको र विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे ।