राजनीति

सरकार मनाङवासीको साथमा छ : प्रचण्ड


काठमाडौँ – गत असारमा आएको बाढीका कारण प्रभावित मनाङबासीका जनतालाई सरकारको पूर्ण साथ र सहयोग रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले आज बाढी प्रभावित क्षेत्रको गर्दै यस्तो आश्वासन दिएका हुन् ।

उनले भने, “यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।” सय वर्ष यताकै ठूलो बाढी र पहिरोले धेरै क्षति पुर्‍याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउनु पर्ने अध्यक्ष प्रचण्डको अभिव्यक्ति थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।