राजनीति

सत्ता गठबन्धनको साझा कार्यक्रम भोलि सार्वजनिक गरिने, मन्त्रिमण्डललाई तत्काल पूर्णता दिन शीर्ष नेताहरु सहमत


काठमाडौँ – सत्तारुढ गठबन्धनले कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जानकारी दिनुभयो ।

कार्यदलले शुक्रबार गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरुले एमालेको माधव नेपाल समूह सरकारमा सहभागि नभए पनि छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य गर्ने विषयमा सहमत भएका छन् ।