राजनीति

सिंहदरवारस्थित संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सभामुख सापकोटाको आग्रह


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गर्नु भएको छ । सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

कोरोनाका कारण प्रतिकूलस्थिति रहेको उल्लेख गर्दै उहाँले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाईन्ट भेन्चर’को ध्यानाकर्षण गराउनु भयो । सभामुख सापकोटाले राष्ट्रकै सबैैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिनु भयो २० महिना अघिबाट निर्माण सुरु गरिएको सो आयोजनाको लागत करिव ५ अर्व ६७ करोड ६१ हजार अनुमान गरिएको छ ।