राजनीति

राज्यमन्त्री श्रेष्ठले भने, बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही हुन्छ


काठमडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’ सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउने उनको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कारबाही गर्न छुट्टै अनुगमन इकाई बनाउने पनि जानकारी दिए ।