राजनीति

माधव नेपाल पक्षको पहिलो दिनको बैठक सकियो, भोलि फेरि बस्ने


काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु भएको छ । विहीबारको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिनुभयो ।

नेपालले एमाले एकता आफूहरुको इच्छा र चाहना भएको तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने बताउनुभयो । यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गर्नुभएको थियो । यस्तै बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि पत्रकारसंग कुराकानी गर्दै रघुजी पन्तले आफूहरु सरकारमा नजाने बताउनुभएको छ ।