समाचार

‘सिजनल फ्लु’ र कोरोना भाइरस कसरी छुट्याउने ? (भिडियोसहित)


काठमाडौँ – मौसममा आएको परिवर्तनसँगै मानिसहरूमा विभिन्न खाले स्वास्थ्य समस्याहरु देखिन थालेको छ । सिजनल फ्लु र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने भएकाले धेरै आत्तिने गरेका छन् । पछिल्लो समय फ्लू संक्रमित पनि बढ्दै गएको चिकित्सक बताउछन् । सिजनल फ्लु र कोरोना कसरी छुट्याउने त ?

गर्मी र जाडो छुट्टिने बेला प्रायः मानिसलाई रुघाखोकीको समस्या हुने गरेको छ । सन् २०२१ को सुरुवातसँगै फ्लू भाइरस नेपालका विभिन्न ठूला शहरमा देखिन थालेका छन् । यस्तो अवस्था सन् २०२० मा भने थिएन । फ्लू र कोरोनाका लक्षण धेरैजसो एक अर्कासंग मिल्दोजुल्दो भएकाले मानिसमा त्रास सृजना भएको छ । अहिले सिजलन फ्लुको विरामी अस्पतालको सम्पर्कमा आउन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ । कोरोना र रुघाखोकीको लक्षण झट्ट हेर्दा उस्तै देखिने भएकाले धेरैमा अन्योलता हुन सक्छ ।

मौसमी रुघाखोकीमा मानिसमा अचानक ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता मुख्य लक्षण देखापर्छन् । समान्य रुघाखोकी लाग्ने बित्तिकै कोरोनाको डरले अस्पताल पुग्नेहरुको संख्या बढिरहेको छ । मौसमी रुघाखोकीकै लक्षण कोरोनामा पनि हुन्छ । फरक यति हो कि यदि स्वाद र गन्ध थाहा पाउन छाड्यो भने कोरोना भएको हुन सक्ने र यदि रुघाखोकी मात्र लाग्यो सिजनल फ्लु नै हुन सक्ने चिकित्सक बताउछन् ।

संसारभरमा सिजनल फ्लूको अवस्था हेर्ने हो भने बढि मात्रामा बालबालिका , दिर्घबिरामी त्यसमा पनि छातीका बिरामीहरु , मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिमा बढि देखिन्छ । साथै जेष्ठ नागरिकहरुमा पनि बढि देखिने गर्दछ । सिजनल फ्लू लाग्न नदिनका लागि वर्षमा एक पटक यो रोग बिरुद्धको भ्याक्सिन लगाउँदा रोगसँग लड्ने क्षमतालाई बढाउँछ । यो भ्याक्सिन सजिलै सँग सस्तो मुल्यमा हरेक अस्पताल र औषधि पसलमा लगाउन सकिन्छ ।

नेपालको फ्लू सिजन फेब्रुअरी–मार्च तथा जुलाई–अगस्ट गरी वर्षमा दुई पटक मानिन्छ । आगामी केही हप्ता फ्लू संक्रमित बढ्दै जाने निश्चित रहेको चिकित्सक बताउछन् । तर, सबै ठाउँमा यसको परीक्षणको सुविधा नहुँदा यकिन तथ्यांक भने छैन । सिजनल फ्लु र कोरोना दुवै सरुवा रोग भएकोले दुबै सर्ने तरिका पनि उस्तै–उस्तै छन् । त्यसैले भौतिक दूरी कायम गरी व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।