राजनीति

प्रमुख सत्तारुढ दल कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । पार्टीको १४औँ महाधिवेशन र क्रियाशील सदस्यको विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो ।

बैठक दिउँसो ३ बजे बस्ने सभापति देउवाको सचिवालयले जनाएको छ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर, कार्यतालिका प्रभावित भइसक्दा समेत कांग्रेसले आवश्यक निर्णय गर्न सकेको छैन । नयाँ कार्यतालिका ल्याउने वा महाधिवेशन सार्ने भन्ने विषयमा समेत नेताहरुबीच जुटेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको विकल्प महाधिवेशन मात्रै भएको बताएको छ ।

देउवा पक्ष प्राविधिक विषय मिलाएर महाधिवेशन केही समय सार्ने पक्षमा देखिएको छ । विशेष महाधिवेशन र भदौ १६ मा तल्लो तहको अधिवेशन सुरु गरेर क्रमिक रुपमा महाधिवेशन गर्दै जानुपर्ने विकल्प पनि नेताहरूले अघि सारेका छन् ।