राजनीति

ओली–माधवले चाहेर हुँदैन, एमाले एक हुन प्रचण्डले चाहनुपर्छ (भिडियोसहित)

एमाले विवादमा प्रचण्डको भूमिका ?


काठमाडौँ – एमाले विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद गराउन दोस्रो तहका नेता सक्रिय छन् । जसकै प्रतिफल स्वरुप आज दुबै शीर्ष नेताबीचको भेटवार्ता तय भएको थियो । तर अन्तिम समयमा आएर वार्ता टरेको छ । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भूमिकालाई समेत अर्थपूर्ण मानिएको छ ।

नेकपा एमालेमा मौलाउँदै गएको विवाद समाधानका लागि अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मात्रै चाहेर नहुने भएको छ ।एमाले सिङगो रहन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चाहनुपर्ने अवस्था देखिएको छ । किनकि जबजबएमाले विवाद निर्णायक तहमा पुग्छ वा ओली–नेपालबीच वार्ता र संवाद हुने कार्यतालिका तय हुन्छ, त्यसअघि नै प्रचण्डको सक्रियता लगालग बढ्छ ।

अझ भन्ने हो भने, माधवले ओलीसंग वार्ता थाल्नु अघि नै प्रचण्ड सुटुक्क नेपाल निवास कोटेश्वर पुगेर छलफल चलाई हाल्छन् । मंगलबार पनि पार्टीभित्रको विवाद समाधान गर्न ओली र नेपालबीच भेटवार्ता तय भएको थियो । तर त्यसअघि नै प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगे ।दोस्रो तहका नेताहरुको सक्रियता र दबाबकै कारण ओली–नेपाल संवादका लागि तयार भएपनिप्रचण्डको भेटपछि भेटवार्ता स्थगित कतिपय नेताहरुले बताइरहेका छन् ।

यसअघि पनि नेकपा एमालेका नेता तथा माधव नेपाल पक्षकोतर्फबाट कार्यदलको संयोजक बनेका डा. भीम रावलले प्रचण्डले एमाले फुटाउन लागिपरेको आशय व्यक्त गरेका थिए । आइतबार माओवादी केन्द्रको पार्टी कमिटी बैठकमा समेत प्रचण्डले माधव पक्ष एमालेमै रहने भयो भन्दै चिन्ता व्यक्त गरेको नेताहरुले बताएका थिए ।

ओलीलाई सरकारबाट बहिर्गमित गरेर आफु अनुकुलको सरकार बनाउन सफल भएका प्रचण्डलाई माधव नेपालले सघाएका थिए ।जसकै कारण माधव पक्षलाई सरकारमा सामेल गराउन प्रचण्ड पनि लागिपरेका छन् । किनकि माधव नेपाल सरकारमा सामेल भए एमाले विवादले नयाँ रुप लिने मात्रै होइन, विभाजनमै पुग्ने आँकलन प्रचण्डको हुनसक्ने विश्लेषण भइरहेका छन् ।

स्थायित्व र समृद्धिको नारा दिएर झण्डै दुईतिहाई बहुमतको सरकार चलाउँदा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसंग अधिकांश राजनीतिक दल र तिनकानेताहरु हायलकायल हुन्थ्ये ।

ओलीले चाहे पार्टी फुटाई दिन सक्छन् भन्ने त्रास समग्र राजनीतिक दलमा थियो । त्यो त्रास ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर तत्कालिनसमाजवादी पार्टी फुटाउन खोजेपछि झनै बलियो बनेको थियो । तर अहिले आफ्नै पार्टी विभाजनको संघारमा रहेका बेला माधवसंगको पुनर्मिलन ओलीका लागि कठोर बन्दै गएको छ । जसमा स्वयं ओलीको भूमिका पनि कम्ताको छैन ।

एकताका लागि भन्दै दैनिक अभिव्यक्ति परिवर्तन गर्ने ओलीले कहिले माधव पक्षलाई कारबाहीको चेतावनी दिन्छन् भने कहिले पार्टीमा ठाउँ नभएको भन्दै गद्दार र देशदोह्रीको नारा लगाउँछन् । झन दोस्रो तहका नेताहरुले एकताको हरसम्भव प्रयास गरिरहेकै बेला सोमबारको बैठकमार्फत ओलीले पार्टीका सबै विभागमा आफ्नो पक्षमात्र हुलेर संरचना निर्माण गरेका छन् ।

दुबै शीर्ष नेताका यस्तै कार्यले विगतमा भएका मेरियटदेखि बुढानिलकण्ढसम्मका संवादले सार्थकता पाएका थिएनन् । अहिले पनि रवैया उस्तै देखिएपछि एमालेको एकता थप कमजोर बन्दै गएको छ ।