काठमाडौँ – कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् ।
सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।
सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
त्यस्तै शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।
प्रतिक्रिया