राजनीति

मन्त्रीमण्डल विस्तारदेखि एमाले एकतासम्म माधव नेपालको दोधारे भूमिका, ओली मात्रै नभई देउवा–प्रचण्ड पनि आजित (भिडियोसहित)


काठमाडौँ – एमालेको माधवकुमार नेपाल पक्षलाई सरकारमा ल्याउने कसरतकै कारण मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुँदै गएको छ । तर पार्टीभित्रको विवाद र सरकार विस्तारमा संकट चुलिएका बेला नेता नेपालले निकास दिनुको साटो द्वैध चरित्रमा देखाइरहेका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन माधव नेपालले लिएको चट्टानी अडानको राजनीतिक क्षेत्रमा खुव चर्चा हुन्छ ।

आफ्नै पार्टीको सरकार ढाल्न दीलोज्यान दिएर मरिमेटेका नेपालकै कारण प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस अहिले सत्ताको भोगचलन गर्ने अवस्थामा छ । तर गिराउन र उठाउन निर्णायक बनेका उनै माधव नेपालको कित्ता पहिचान नहँुदा न सरकारले पूर्णता पाएको छ, न एमाले विवादले नै निकास पाएको छ । असार २९ मा चार मन्त्रीसहित सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले २० दिन वितिसक्दा मन्त्रीमण्डललाई पूर्णता दिन असफल सिद्ध भएका छन् । अहिले गठबन्धनका दलहरुले सरकार विस्तारबारेको ढीलासुस्तीमा माधव नेपालकै दोधारे भूमिकाले काम गरेको ठोकुवा गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारको पार्टी स्थायी कमिटी बैठकमा माधव नेपाल नै सरकार विस्तारको बाधक बनेको आशय व्यक्त गरेका थिए । कहिले सरकारमा जान तयार रहेको बताउने र कहिले विपक्षीमै बस्ने द्वैध चरित्र देखाउँदा सत्ताधारी गठबन्धनसमेत अन्योलमा परेको छ । गठबन्धनले ६ मन्त्रालयको जिम्मा एमालेको माधव नेपाल पक्षलाई लगाउने तय गरेको थियो । तर नेता नेपालको व्यवहार सत्तापक्षको जस्तो र कानुनी हैसियत विपक्षी दलकै रहेपछि गठबन्धन अलमलमा परेको हो । जसकारण प्रधानमन्त्री देउवा तीन साता पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न असक्षम देखिएका छन् ।

माधव नेपाल पक्ष सरकारमा नआए कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादीलाई ७ र जसपालाई ६ मन्त्रालय भागबन्डा गर्ने मोटामोटी सहमति छ । तर नेता नेपालले केही दिन पर्खिन आग्रह गरेपछि गठबन्धनले उनीहरुको निर्णयलाई पर्खिरहेको छ । यद्यपी सरकारमा जाने र नजाने भनी आफ्नै समूहमा देखिएको मतभेदकै बीच नेपालले सरकारमा तीन जनालाई पठाउने वचन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दिएको कतिपय नेताको भनाई छ ।

कतिपयले भने, पार्टी एकताको प्रयास भइरहेका बेला नेपालले गठबन्धनप्रति देखाएको प्रेम अशोभनीय रहेको बताउँछन् । किनकि माधव नेपालको दुईथरी मानसिकताकै कारण मन्त्रीमण्डल विस्तारले पूर्णता नपाउने मात्रै होइन, एमाले विवादसमेत सार्थकता नपाउने अवस्थामा छ । यसैकारण अध्यक्ष ओलीले दैनिक नेपालमाथि विषवमन गरिरहेका छन् ।

आन्तरिक पार्टी एकता गर्न एमाले दोस्रो तहका नेताले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउन लगातार प्रयास गरेपनि सम्भव भएको छैन । अर्कातिर नेता नेपालले सत्ता गठबन्धनका नेताहरूसँग संवाद चलाइरहेका बताएका छन् । तर ओलीले प्रतिमगन गरेको भन्दै आफ्नै पार्टीको सरकार ढालेर फरक इतिहास बनाएका नेपालले अहिले बदलिएको राजनीतिक कोर्षलाई निकास दिन चुक्दै जाँदा उनी पनि प्रतिगमनको मतियारका रुपमा दर्ज हुने संकेत देखिन थालेको छ ।