कोरोना विशेष

काठमाडौँ उपत्यकामा नाम मात्रको निषेधाज्ञा : जताततै भीडभाड, कोरोनाको जोखिम बढ्यो (भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमणका लागि काठमाडौँ उपत्यकामा अहिले पनि निषेधाज्ञा जारी छ । तर, उपत्यकामा नै दैनिक ९ सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । सरकार स्वयंले जोखिम नघटेको बताउँदै आए पनि स्वास्थ्य मापदण्ड पालनाबारे निगरानी र अनुगमनमा भने निरिह देखिएको छ । कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकामा अझै पनि निषेधाज्ञा जारी नै छ । तर, सार्वजनिक स्थानमा भिडभाड हेर्दा निषेधाज्ञाको पूर्ण पालना भएको देखिँदैन ।

कोरोना सक्रमितको संख्या पछिल्ला दिनहरूमा घट्नुको साटो झन् झन् बढ्दै गएको छ । उसै पनि काठमाडौं उपत्यकामा ७७ जिल्ला कै मानिसहरु बसोबास गर्ने हुदाँ संक्रमणको उच्च जोखिम छ । काठमाडौं उपत्यकामा आइतबार सम्मको सरकारी तथ्याङक हेर्ने हो भने सक्रिय संक्रमित ६ हजार ९८जना रहेका छन् । ११ गते ८५१, १२ गते ७७४, १३ गते ८५९, १४ गते ८६०, १५ गते ८१९, १६ गते ७७५, १७ गते ८५१ गरी ७ दिनमा मात्र ५ हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा निषेधाज्ञा घोषणा गर्दै प्रमुख जिल्ला अधिकारीहरुले सबै प्रकारका सभा, सम्मेलन, यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा जुलुस गर्न, नित्यकर्म बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आदि नगर्न आदेश दिएको छ । तर, बजारभरि चहलपहल बाक्लो छ  । चोक–चोकमा भीडभाड उस्तै छ । मास्क लगाउन छाडिएको छ । भौतिक दूरी कतै देखिँदैन । प्रहरीको निगरानी पनि कतै भेटिँदैन । कोरोना सङ्क्रमणको महामारी कायम हुँदाहुँदै सभा, प्रदर्शन, भेला, धार्मिक क्रियाकलापले तेस्रो लहरलाई आमन्त्रण गरेको विज्ञहरु बताउछन् ।

राजनीतिक दलका नेता कार्यकर्ताको लापरबाही र काठमाडौं उपत्यकाको विभिन्न खोप केन्द्रमा लागेको भिडभाड उस्तै छ । स्वास्थ्यकर्मी स्वयंमले पनि स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेका छन् । आज साउन महिनाको तेस्रो सोमबार पनि पशुपति मन्दिरसँगै उपत्यकाका शिव मन्दिरहरूमा पूजाआरधना गर्नेको बाक्लो भिडले न त सामाजिक दूरी कायम गरेका छन् नत मास्कको सही रूपमा प्रयोग गरेका छन् ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा निरन्तरता दिइ नै रहेको छ । भिडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड उल्लघंन नगर्न पटक पटक आदेश दिने उपत्यकाका सिडिओ कार्यालयहरू आदेश कार्यान्वयन भए नभएको खासै ख्याल गरेको पाइँदैन । एकातिर निषेधाज्ञा जारी राख्ने अर्कोतिर नियम पालनामा ध्यान नदिने प्रवृत्तिले कोरोरा संक्रमण घट्नुको साटो बढिरहेको छ । आवश्यक सावधानी नपअनाउँदा संक्रमणले कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना देख्नु पर्दैन ।