राजनीति

दार्चुला घटनामा सरकार मौन बसेको भन्दै सांसदको आपत्ति, जवाफ दिन गृहमन्त्रीलाई हम्मेहम्मे (भिडियोसहित)


दार्चुला घटनामा सरकार मौन बसेको भन्दै सांसद्ले जनाए आपत्ति, छानविन समितिले काम गरिरहेको गृहमन्त्रीको दाबी, हवाई सेवा र उड्डयन प्राधिकरण विधेयक सर्वसम्मतिले पारित । राष्ट्रियसभा बैठकमा सांसद्हरुले दार्चुलामा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तार काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको बारेमा सरकारको जवाफ माग गरेका छन् । भारतले लदादागिरी देखाउँदा पनि सरकार मौन रहेको भन्दै चर्को आलोचना पनि भएको छ । तर गृहमन्त्री बालकृष्ण खाँडले घटनाको छानविन भैरहेको र समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने दाबी गरे ।

राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य रामनारायण बिडारीले महाकाली सन्धिकै कारण भारतले नेपाली युवाको हत्या गर्ने हिम्मत गरेको आरोप लगाए । महाकाली सन्धिमा सो नदीलाई साझा भनिएका कारण भारतीय पक्षले नेपालमाथि दादागिरी देखाएको आरोप बिडारीको छ । बिडारीले महाकाली सन्धि बेइमानीपूर्वक गरेको भनेर नेपालीले धेरै आन्दोलन गरेको र महाकाली सन्धिले महाकाली नदीलाई साझा भनेका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरेको दाबी गरे । यसमा सरकारको धारण के हो भन्दै राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई बिडारीले प्रश्न गरे ।

नेकपा एमालेकी सांसद कोमल वलीले महाकाली नदी तर्दै गरेका नेपाली चढेको तुइन काटिएको विषयमा छानबिन समिति मात्र बनाउने कि भारतसँग कुरा गर्ने भनेर प्रश्न गरिन् । वलीले दार्चुला घटना सम्बन्धमा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ? भन्दै गृहमन्त्रीलाई प्रश्न सोधिन् । सरकारले यो घटनालाई कम्फरटेबल बनाउन खोजेको आरोप लगाइन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए । उनले छानविन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उनले बताए । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाई छ । उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुखद र संवेदनशील रहेको बताए ।

सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा बास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविनको लागि घटनास्थलमा खटिएको उनले बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी समेत ५ जना रहने गरी स्थलगत रुपमा सत्यतथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरी घटनास्थल तर्फ पठाइसकिएको पनि उनले बताए ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राखिएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।