काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिती बैठकले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि मन्त्रालयलाई आग्रह गरेको थियो ।
तर, मन्त्रालयले पनि आफू पछि हट्दै राखेपलाई छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको विवाद र गुनासो छानबिन गरी समस्या समाधानको उपायसहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएका हुन् ।
अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिने घोषणा गरेका थिए । नेम्वाङले केही हप्तादेखि आफूलाई काम गर्न नदिएको अलमुताइरीको आरोप थियो ।
आफूमाथि गम्भिर आरोप लागेपछि नेम्वाङले छानबिनका लागि एन्फामा निवेदन दिएका थिए । लगत्तै प्रशिक्षक अलमुताइरीले पनि दुई पत्रकारसहित वरिष्ठ उपाध्यक्षमाथि छानबिनका लागि निवेदन दिएका थिए ।
प्रतिक्रिया